महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जन गराउने देउवाको तयारी


 


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन उपर पदाधिकारीहरूसँग छलफलको तयारी गरेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले साउन अन्तिम साता बसेको केन्द्रीय समिति बैठकमा आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तर महामन्त्रीद्वयको उक्त प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक स्थगन भएको थियो । महामन्त्री थापाले चुनावी गठबन्धन गर्न नहुने भन्दै ‘कांग्रेसलाई रूखमा भोट हाल्न पाउनुपर्ने’ भन्दै प्रतिवेदन पेस गरेका थिए । यस्तै महामन्त्री विश्वप्रकाश शर्माले ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने’ प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा राखेका छन् ।

२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । सोही कारण साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्ताव प्रस्तुत भएको हो ।

तर‚ महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडानमा सभापति देउवा सहित संस्थापन पक्ष छ । चुनावी गठबन्धन रणनीतिक भएको र एक्जिट पोलिसि विधानमा समावेश गर्न नहुने जिकिर संस्थापन पक्षको छ । सोही विवादका कारण केन्द्रीय समितिले निर्णय गर्न नसकी बैठक भदौ ७ गते सम्मलाई स्थगन भएको हो ।

प्रतिवेदनमा परिमार्जन गराउने उद्देश्यसहित देउवाले पदाधिकारीमा छलफल गर्न लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

‘समय टुङ्गो लागेको छैन । आजै वा भोलि बैठक बस्नुअघि पनि छलफल हुन सक्छ‚’ देउवाले भने । कांग्रेसले बिहीबार बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । तर हालसम्म सहमति जुट्न नसकेको हो ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्