सिधा कुराविरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउँदै सर्वोच्च


 


काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउने तयारी गरेको छ। यसअघि बहस सकेर सर्वोच्चले आज (भदौ ६ गते)का लागि निसु तोकेको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत् पूर्ण इजलास सुनुवाइ सकेर निसु तोकेको थियो । उक्त इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको थियो । सवै पक्षको बहस नोट पेस भएकाले आजै फैसला हुनसक्ने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ।

प्रधानन्यायाधीश श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले यो विवादमा सुनुवाइ गरेको थियो ।

अनलाइन तथा युट्युब च्यानल सिधा कुराले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको समेत नाम लिएर एक विवादित श्रव्य सामग्री प्रकाशन–प्रसारण गरेको थियो । उक्त अडियोमा वरिष्ठ अधिवक्ता हरि उप्रेतीको नाम पनि जोडिएको थियो । प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भइसकेको छ । सिधा कुराविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेला भएको दाबीसहित रिट दायर गरेका थिए ।

त्यस्तै अधिवक्ता अनुपम भट्टराईले पनि बेग्लै मुद्दा दायर गरेका थिए । ती दुवै मुद्दा एक साथ राखी सुनुवाइ भएको थियो ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्