कैलालीका विभिन्न बस्ती डुबानमा, जनजीवन कष्टकर


 


धनगढी, भदौ ६ । अभिरल बर्षाका कारण कैलालीका विभिन्न ठाउँ जलमग्न भएका छन् । बस्ती नै डुबानमा परेपछि कैलालीको प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

बुधबार आएको बाढी घट्न नपाउँदै राति थप वर्षा भएपछि जिल्लाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा डुबानमा परेको छ । डुबान प्रभावित क्षेत्रका स्थानीयका रातभरि बिचल्ली भएको प्रहरीले जनाएको छ ।

हिजो आएको बाढीका कारण प्रभावित कैलारी गाउँपालिका–५ को मनिकापुरका स्थानीय डुबान भएको घरमा रातभरि जाग्राम बसेको बताइएको छ ।

यसैगरी, भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन पनि कष्टकर बन्दै गएको स्थानीयले बताएका छन् ।

कैलालीको धेरै भूभागमा पछिल्लो तीन घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार भारी वर्षापछि कलरिया, कान्द्रा, घुरहा नदीसहित मोहना नदीको सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भूभागमा डुबानको जोखिम रहेको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्