‘ताप्लेजुङका सहिद’ पुस्तक सार्वजनिक


 


ताप्लेजुङ । ताप्लेजुङस्थित महान् सहिद स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘ताप्लेजुङका सहिदहरू’ नामक पुस्तक सार्वजनिक गरिएको छ । दश वर्षे माओवादी जनयुद्ध तथा राजनीतिकलगायत विभिन्न द्वन्द्वका कारण ज्यान गुमाएका व्यक्तिको संक्षिप्त जीवनी विवरण समेटेर प्रकाशित गरिएको उक्त पुस्तक सार्वजनिक गरिएको हो ।सदरमुकाम फुङ्लिङस्थित नेकपा (माओवादी केन्द्र) को जिल्ला कार्यालयमा बुधबार कार्यक्रम आयोजना गरी ‘ताप्लेजुङका सहिदहरू’ पुस्तक सार्वजनिक गरिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङ राई, जिल्ला समन्वय समिति प्रमुखसमेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष छिरिङ लामा लगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको छ । प्रकाशित पुस्तकमा माओवादी जनयुद्धका क्रममा जीवन बलिदान तथा उत्सर्ग गर्ने व्यक्तिहरूको संक्षिप्त घटना विवरण र पारिवारिक विवरण समावेश गरिएको छ । यस्तै जनयुद्धबाहेक विभिन्न राजनीतिक द्वन्द्वका कारण ज्यान गुमाएका र बेपत्ता भएकाहरूको घटना विवरण, पारिवारिक तथा राजनीतिकबारे संक्षिप्त विवरण समावेश गरी पुस्तक प्रकाशन गरिएको प्रतिष्ठानका अध्यक्ष एवम् माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णुकुमार हाङ्बाङ लिम्बूले जानकारी दिनुभयो ।अध्यक्ष लिम्बूका अनुसार कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रतिष्ठानले पुस्तक प्रकाशन गरेको हो । जनयुद्धका क्रममा ज्यान गुमाएकासमेत एकसय ७८ जनाको संक्षिप्त जीवनी तथा घटना विवरण पुस्तकमा समावेश गरिएको छ । पुस्तकमा समावेश शहीदको विवरणमध्ये सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका मनकुमारी राई (दिव्या), फुङ्लिङ नगरपालिकाका काशीनाथ गौतम लगायतको नाम बेपत्ता विवरणमा उल्लेख गरिएको छ ।त्यस्तै सिरिजङ्घा गाउँपालिका–१ सिनामका हरि नेपाल, रुकमान थेबे, इन्द्रमान थेबे, मैवाखोला गाउँपालिका ढुङ्गेसाँघुका लक्ष्मीप्रसाद वनेम (आयु), राजेन्द्र वनेम, मिक्वाखोला गाउँपालिका–३ लिबाङका लगमध्वज लिम्बू लगायतको नाम विभिन्न राजनीतिक द्वन्द्वका कारण ज्यान गुमाउनेमा राखिएको छ । यता पुस्तक सार्वजनिक गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य बुढाक्षेत्रीले शहीदको सम्मान तथा इतिहास स्थापित गर्नमा पुस्तकले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रकाशित पुस्तकबारे राजनीतिक दलका नेतृत्वलगायतले आ–आफ्नो धारणा राख्दै थोरै भए पनि सहिदहरूको योगदानको सम्मान भएको बताउनुभएको छ । जनचाहना विपरीत व्यवस्था तथा सिङ्गो समाज परिवर्तनका लागि जीवन बलिदान गर्ने सहिदहरूलाई कसैले भुल्न नहुने पनि उहाँहरूले भनाइ राख्नुभयो । 

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्