रास्वपा बैठकमा रवि लामिछानेले भने– भदौ ७ गते बयान दिन जान्छु


 


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको बताएका हुन् ।

‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, लामिछानेले बैठकमा गराएको जानकारी उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ ।

यसैगरी रास्वपाले महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणका लागि मौका दिएको छ । उनलाई यसअघि रास्वपाले साधारण सदस्यबाहेक अन्य पदीय जिम्मेवारीबाट मुक्त गरेको थियो ।

‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानको धारा ५६ (४) बमोजिम अन्तिमपटक स्पष्टीकरणको मौका दिने’, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘यसअघि उहाँलाई सचिवालयले मौका दिएको थियो अहिले केन्द्रीय समिति बैठकले अन्तिम मौका दिएको छ ।

बुधबारकै बैठकले स्थानीय तहको आसन्न उपनिर्वाचन भाग लिने निर्णय पनि गरेको छ ।

साथै बैठकले बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिले विधानको धारा ९५ (३) अनुसार धारा २३ ले परिकल्पना गरेको केन्द्रीय परिषद् गठन गर्ने र राष्ट्रिय भेलामा परिषद्का साथै पालिका र निर्वाचन क्षेत्र समितिका प्रतिनिधि एवम् प्रदेश समिति, प्रदेश विभाग, गत संसदीय निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू सहभागी हुने गरी प्रतिनिधि तोक्ने निर्णय गरेको छ ।

रास्वपाले भदौ १५ गते कर्णालीमा प्रदेश भेला गर्ने भएको छ । ‘कर्णाली विशेष अभियानअन्तर्गत भदौ १५ गते कर्णालीमा प्रदेश भेला आयोजना गरी संगठन निर्माण र विस्तारलाई निरन्तरता दिने’, कार्यवाहक प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भदौ महिनाभित्र सातै प्रदेशमा संक्षिप्त प्रशिक्षण स्वरूप पार्टी सभापतिको उपस्थितिमा विस्तारित छलफलहरू आयोजना गर्ने पनि सो पार्टीले जनाएको छ ।

असोज ३ गते संविधान दिवसका दिन संविधान संशोधनसँग सम्बन्धित नीति मन्थन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रवक्ता झाले जनाएका छन् । यसबाहेक सो पार्टीले भ्रष्टाचार मुद्दाको हदम्याद, सरकारबाट शिक्षालगायतका क्षेत्रमा भएको राजनीतिकरणको निरन्तरता, असमावेशी मन्त्रिपरिषद् र स्वार्थ बाझिने गरी मन्त्री नियुक्ति, डेडिकेटेड एवं ट्रंक लाइन विद्युतको महसुल उठाउन गरिएको आनाकानी र नीतिगत भ्रष्टाचारका सन्दर्भमा सदनमा सशक्त आवाज उठाउने भएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्