इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी, मापदण्ड संशोधन गर्न चलखेल


 


काठमाडौं । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी अघि बढाएको छ । एक वर्ष अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको हेरफेर हुन लागेको हो ।

एसपी प्रमुख रहने करिब एक दर्जन जिल्ला हेरफेर हुँदैछ । जसमा कास्की, सुनसरी, कपिलवस्तु, सप्तरी र दाङ जानका लागि चर्को प्रतिस्पर्धा छ ।

गत चैतमा बढुवा भएका एसपीहरु अहिले जिल्ला जान दौडधुपमा छन् ।

एसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया,नरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे चलखेलमा लागेका छन् ।

उनीहरुमध्ये एसपी सन्तोष तामाङ खर्च गरेरै तराईको जिल्ला जाने दाउमा लागेको स्रोत बताउँछ । यसअघि रसुवामा कार्यरत रहँदा सुन तस्करीमा समेत सघाएर उनले करोडौं सम्पत्ति कमाएका थिए ।

स्रोतका अनुसार ललितपुरको झम्सीखेलमा बंगला र भक्तपुरमा करिब २० रोपनी जग्गा उनले जोडेका छन् ।

अन्य केही एसपीहरु पनि गृहमन्त्री निकट व्यक्तिलाई खुशी बनाएर जिल्ला जाने दौडधुपमा भएकाले यसपटकको सरुवामा अत्याधिक चलखेल हुने देखिएको छ ।

डिएसपी र इन्सपेक्टरहरु छ सरुवा मापदण्ड नै संशोधन गराउने चलखेलमा लागेका छन् । हालको मापदण्डअनसुसार क वर्गको कार्यालयमा दोस्रो पटक जान पाइदैन ।

तर केही शक्तिशाली अधिकृतहरु यस्तो प्रावधान हटाउन लागिपरेको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । डिएसपी सरुवामा उपत्यकाका वृत्तसहित विभिन्न जिल्ला र इप्रकाहरुमा हेरफेर हुँदैछ ।

काठमाडौंका बौद्ध, गौशाला, दरबारमार्ग, बानेश्वर, स्वयम्भु, जगाती लगायत वृत्तका इन्चार्ज फेरिदैछन् । वृत्तमा जान ठूलै नेताहरुमार्फत चलखेल भइरहेको छ ।

त्यस्तै, खोटाङ, संखुवासभा, प्यूठान, पर्वत लगायत जिल्लाको नेतृत्व फेरिदैछ । दुई ठूला दल कांग्रेस र एमाले सरकारमा भएकाले सरुवामा दुवै दलबाट सिफारिस भएका छन् ।

जसकारण यसपटकको सरुवामा बिचौलिया हावी हुने र इमान्दार अधिकृतहरुमाथि अन्याय हुने जोखिम बढेको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्