कोशी नदीमा सङ्कटापन्नको सूचीमा रहेको माछाको प्रजाति भेटियो
मोरङ, भदौ ५ । कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ ।
क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ ।
अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले यो माछा नेपालमा भेटिएको पुष्टि गर्नुभयो ।
कोशी नदीमा भेटिएको र आसपासका नदीमा पनि पाइन सक्ने अनुमान गरिएको माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि अनुसन्धानकर्ताको भनाइ छ । अनुसन्धानकर्ता मध्येका एक लिम्बूका अनुसार माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरिएको थियो ।
नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो । महत्त्व थाहा नहुँदा दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेकोसमेत पाइएको छ । लोपउन्मुख माछा संरक्षणका लागि सबैले पहल गर्नुपर्नेमा अनुसन्धानकर्ताको जोड छ ।
प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार