समाजशास्त्रीय दृष्टिकोणले ‘दसैँ र तिहार’ को ठूलो महत्व


 


काठमाडौँ, माघ १४

समाजशास्त्रीय दृष्टिकोणले नेपालमा परम्परादेखि मनाइँदै आएको ‘दसैँ र तिहार’ को ठूलो महत्व रहेको औँल्याइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाले यहाँ आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले दसैँ र तिहारको समयमा मानिसलाई पाठपूजा र रमाइलो गर्न तुलनात्मक रुपमा फुर्सद हुने बताए ।

संस्कृतिविद् मोदनाथ प्रश्रितले कृषि प्रणालीको युग सुरु भएपछि समाजमा जेठदेखि भदौसम्म कृषि उत्पादनका लागि व्यस्त हुनुपर्ने, असोजमा फलफूल तथा खाद्य बालीको सङ्ग्रह भई इष्टमित्र भेट्ने तथा पूजा गर्न उपयुक्त भएकाले दसैँको परम्परा विकास भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले भारत वर्षमा रामले रावणलाई हराएको स्मरणमा असत्यमाथि सत्यको विजयका रुपमा उत्सव मनाइन थालिएको र त्यो समय चैतमा भएकाले चैते दसैँका रुपमा मनाउने परम्परा पनि रहेको शास्त्रीय मान्यता पनि रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले प्राचीन समयमा समाजलाई एकताबद्ध बनाउन विभिन्न उत्सव, परम्परा र संस्कृतिको विकास गरिएको बताउँदै त्यसको महत्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृतिकर्मी मीन श्रीषमगरले तिहारको पूर्वसन्ध्यामा गाईपूजाका दिन मानिसले स्नान गरी घर, आँगन तथा गोठमा गरिने सफाइले शुद्धीकरण ल्याउने विचार व्यक्त गर्दै तत्कालीन अर्थतन्त्रलाई चलायमान बनाउन देउसी तथा भैलोका अवसरमा दक्षिणा बाँड्ने परम्परासमेत बसेको बताउनुभयो ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्