भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत खरिद गर्ने


 


काठमाडौँ, भदौ ४ । भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत खरिद गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका थप १२ वटा जलविद्युत् परियोजनाबाट विद्युत खरिद गर्ने भएको हो ।

काठमाडौँस्थित भारतीय दूतावासले भारतले बिहार राज्यमा प्रयोग हुने गरी थप विद्युत लैजान स्वीकृत प्रदान गरेको जनाएको छ । बिक्री गरिने विद्युतको बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५) भारु रहेको छ ।

गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको एक सय नौ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा (५.२५) भारु रहेको थियो । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क प्राधिकरणले बेहोर्नुपर्दैन ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र विहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो ।

सन् २०२१ को अक्टोबरमा पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यातका लागि भारतले अनुमति दिएको थियो । नेपालले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा विद्युत् बिक्री गरी पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो ।

हाल नेपालले भारतका रियल टाइम मार्केटमा समेत पहुँच विस्तार गरेको छ । त्यसपछि यो आँकडा निरन्तर बढिरहेको प्राधिकरणको तथ्यांक छ ।

यसअघि भारतले १६ वटा परियोजनाबाट ६९० मेगावाट विद्युत् खरिदको स्वीकृति दिएको थियो ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्