ताप्लेजुङ गोल्डकप फुटबल : सङ्घर्ष स्पोर्टिङ क्लबको विजयी सुरुआत


 


ताप्लेजुङ ३ भदौ। लाखे जात्राको अवसरमा ताप्लेजुङमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ क्लबले विजयी सुरुआत गरेको छ ।

भारत सिलगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोल अन्तरले पराजित गर्दै सङ्घर्ष स्पोर्टिङ क्लबले विजयी सुरुआत गरेको हो ।

निर्धारित ९० मिनेटको खेल ५–५ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १५ मिनेटको अतिरिक्त समयमा कञ्चनजङ्घा विरुद्ध सङ्घर्षले गरेका दुई गोल नै निर्णायक बन्यो । खेलको ९७ औँ मिनेटमा कप्तान अनुप सेन्दाङको उत्कृष्ट फ्रि–किक गोलमा परिणत भएपछि सङ्घर्षले जित हात पारे ।

ताप्लेजुङको फुङलिङको भानु माविको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा भोली (मङ्गलवार) समूह ‘बी’ मा रहेका पाँचथर फुटबल क्लब पाँचथर र सिराहाको सलहेश युवा क्लब खेल हुने आयोजक ताप्लेजुङ गोल्डकपका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

ताप्लेजुङसहित आठ टिमको सहभागी रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

आयोजकले प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ र खेल अवधि भरिका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरेको आयोजक गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्