जनैपूर्णिमामा भद्राको दोष नलाग्ने निष्कर्ष


 


काठमाडौं, भदौ ३ । जनैपूर्णिमामा भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले बताएका छन् ।

भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आइतबार बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले यस्तो निष्कर्ष निकालेका हुन् ।

भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने र यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए ।

“कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुँदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ”, उनले भने ।

यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सर्वसाधारणलाई भद्राको दोष नलाग्ने भएकाले जनैपूर्णिमा र रक्षाबन्धनका कर्म गर्न कुनै समस्या नरहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्