जसपा नेपालले केन्द्रीय सदस्यका लागि तोक्यो कार्यादेश


 


काठमाडौँ, भदौ ३ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरुको कार्यादेश तय गरेका हुन् ।

कार्यादेश अनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्ताबेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने छ ।

त्यस्तै विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति÷समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेद लगायतका विषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन् ।

त्यस्तै केन्द्रीय अभियन्ताले कोशी प्रदेशको नाम खारेजी र ऐतिहासिक पहिचानको आधारमा नामाङ्कन गर्नका लागि दबाब सिर्जना गर्न, समुदायमा जागरण ल्याउने र पार्टी विभाजनबारे भण्डाफोर गर्नुपर्ने भनी निर्देशन गरिएको छ ।

जसपा नेपालको साउन २७–३० मा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरूलाई अभियन्ताको रूपमा चार महिना पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्