राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षा क्षेत्रको विकास गर्न सक्छ : महासचिव पोखरेल


 


काठमाडौँ २ भदौ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको आर्थिक अवस्थामाथि उकास्नका लागि अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक तथा मौलिक संस्कृतिमाथि तीव्र आक्रमण, कमजोर आर्थिक अवस्थालगायत कारणले देश कमजोर अवस्थामा रहेकाले त्यसबाट मुक्त गराउनु अहिलेको मुख्य कार्यभार भएको धारणा राख्नुभयो ।

महासचिव पोखरेलले सार्वजनिक शिक्षामा देखिएको चुनौती समाधानको आवश्यकता औँल्याउनुहुँदै त्यसको समाधान शिक्षक सङ्गठनले मात्र गर्न सक्ने जिकिर गर्नुभयो । राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षाको विकास गर्न सक्ने उहाँको भनाइ थियो । “हिजो नेपालको राजनीतिक जागरणमा जसरी नेपालका शिक्षकले भूमिका खेलेका थिए, आज समाज बन्दै गरेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव छ”, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले समाजको सचेत वर्ग सार्वजनिक शिक्षाबाट बाहिरिएका कारण नेपालको सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै गएको बताउनुभयो । “घरमा राम्रो पढ्ने वातावरण र अवस्था नभएका धेरै विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । उनीहरूको पढाइको स्तर सुधार गर्न निक्कै कठिन भए पनि सुधार नगरी नहुने अवस्था छ । यसमा सबैले सकारात्मक पहलकदमी लिनुपर्ने आवश्यकता छ । शिक्षक सङ्गठनहरूले यसतर्फ विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले देशमा देखिएका समस्या समाधान र राजनीतिक स्थायित्वका लागि एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको दोहोर्‍याउनुभयो । राजनीतिक परिवर्तनको समयमा धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भन्नुहुँदै उहाँले देश बनाउन भने बलिया राजनीतिक दल आवश्यक रहेकामा जोड दिनुभयो । देश विकासका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने महासचिव पोखरेलको भनाइ छ । “नेपालमा बलियो राजनीतिक शक्ति नबन्दासम्म विकास हुन सक्दैन ।

देश र समुदायको हितका लागि बलिया सङ्गठन आवश्यक पर्ने हुँदा यही सोचका साथ नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता छ । यही कुरालाई ध्यानमा राखेर हाल देशका बलिया राजनीतिक दल एक ठाउँमा मिलेर सरकार बनाएका छौँ”, उहाँले अगाडि भन्नुभयो,“देश विशिष्ट अवस्थामा रहेको हुँदा लोकतन्त्र र स्थायित्वका आधार निर्माणका गर्न एमाले–कांग्रेस एक ठाउँमा उभिएका छौँ, त्यो आधार निर्माण हुनेबित्तिकै दुई ठूला राजनीतिक दल स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा उत्रिन्छौँ ।”

प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्