विश्व कीर्तिमान राख्न लोमान्थाङमा गल्फ प्रतियोगिता


 


काठमाडौं, भदौ २ । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् ।

लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जितिन् ।

समुद्री सतहबाट चार हजार छ सय ४५ मिटर उचाइमा अवस्थित लेवथाङमा आयोजना गरिएको यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरे ।

नेपाल गल्फ एशोसिएसनका उपाध्यक्षसमेत रहेका फुर्साङ लामा द्वितीय भए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले १४ स्कोरसहित पुरुषतर्फको ग्रस उपाधि जिते । यसअघिका दुई वर्ष लगातार उपाधि जितेका काठमाडौँका गल्फर श्याम तामाङको ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन ।

महिलातर्फको उपाधि जितेकी बालकाशी गुरुङले पाँच अण्डर २३ स्कोरको नतिजा निकालिन् । चार अण्डर २२ स्कोर प्राप्त गरेकी धरानकी झुना राई दोस्री भइन् ।

प्रतियोगितामा सहभागी हुनका लागि काठमाडौँ, पोखरा, धरानलगायत सहरका ३५ जना गल्फ खेलाडी लोमान्थाङ पुगेका थिए ।

विजयी खेलाडीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले ट्रफी वितरण गरे ।

सो अवसरमा लेवथाङ गल्फ कोर्सको स्तरोन्नतिका लागि हिमालयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाले एक हजार डलर आर्थिक सहयोग गरेका थिए ।

तीन वर्षअघि निर्माण गरिएको कोर्षलाई गिनिज बुक (विश्व कीर्तिमान)मा रेकर्ड गराउने प्रयासस्वरुप तेस्रोपटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फकोर्ष मान्ने गरिएको थियो ।

लोवथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारबाट पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहाँसम्म पुग्न सडक विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसेमैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।

गल्फका लागि टिबक्स, फेयरवे र ग्रीन, फ्रन्टलाइन र ब्याकलाइनको टिबक्सलगायत संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडकयात्रा गर्नुपर्छ ।

प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्