पूर्वीय संस्कार र संस्कृतिको महत्त्व बुझाउनु आवश्यक : सभामुख घिमिरे


 


काठमाडौँ १ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीय संस्कार र संस्कृतिको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

होमप्रसाद आचार्यद्वारा लिखित ‘बृहत् कर्मकाण्ड प्रदीप’ नामक पुस्तक आज लोकार्पण गर्दै उहाँले हाम्रो संस्कार बुझ्न सक्ने गरी पुस्तक प्रकाशनमा ल्याउनुपर्ने बताउनुभयो ।

“यो पुस्तकको अन्य संस्करणमा नेपाली र अङ्ग्रेजीमा पनि सकिन्छ भने ल्याउँदा सबैले सहजै बुझ्न सक्नेछन्,” उहाँले भन्नुभयो, “हामीले आफ्ना वेदका महत्त्वसँगै संस्कृति र संस्कारका पक्षलाई नयाँ पुस्तालाई प्रस्ट्याउनु पर्छ । नत्र उनीहरूले सतही ज्ञान मात्र लिइरहेका हुनेछन् ।”

सभामुख घिमिरेले ७० वर्षको उमेरमा पनि आचार्यले प्रविधिको प्रयोग गरेर पुस्तक लेख्नुले अन्यलाई पनि ऊर्जा मिल्नेमा जोड दिनुभयो ।

लेखक आचार्यले शास्त्र र वेदमा उल्लेख गरिएको विषयलाई सबैले बुझ्ने गरी पुस्तकमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “वेदको सिद्धान्त र दर्शनलाई बुझ्ने गरी यो पुस्तक तयार गरेको छु । हामीले कसरी कर्म गर्नुपर्छ भन्ने यसमा उल्लेख गरिएको छ । त्यसकारण यो सबैका लागि उपयोगी हुनेमा विश्वस्त छु ।”

प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्