सोलुको थामे बाढीमा १२ घर बगे, एक जना बेपत्ता


 


काठमाडौं ३२ साउन । सोलुखुम्बुको थामे बाढीमा परेर एक जना स्थानीयबासी बेपत्ता भएका छन् ।

थामे गाउँका एक जना बोल्न नसक्ने व्यक्ति बेपत्ता भएको कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालले जानकारी दिए।

‘एक जना बोल्न नसक्ने गाउँले बेपत्ता हुनुभएका कारण खोजी सुरू गरिसकेका छौं, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,’ कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालले भने ‘उहाँको नाम हामीकहाँ आइसकेको छैन । एक जना गाउँले बेपत्ता भएको भनेपछि प्रहरी खोजीमा जुटेको छ।’

प्रहरी चार बजेतिर घटनास्थल पुगेको थियो। घटनास्थलमा उद्धार गर्ने, खोज्ने र विस्थापित भएकालाई प्रहरीले अस्थायी बासस्थानको प्रबन्ध गरिरहेको छ। करिब एक सय जना गाउँलेलाई अस्थायी बासको प्रबन्ध गर्नुपर्ने प्रहरीको भनाइ छ।

खुम्बु पासाङल्हामु गाउँपालिका(५ स्थित थामे गाउँमा शुक्रबार दिउँसो पसेको थामे खोलाको बाढीले गाउँका १२ वटा घर बगाएको थियो।

‘एउटा छात्राबास, ५ वटा होटलसहित १२ वटा घर बाढीले बगाएको छ,’ एसएसपी दाहालले भने, ‘त्यसबाहेक एउटा क्लिनिक र एउटा स्कुलमा बाढीले क्षति पुर्‍याएको छ। यसरी आंशिक र पूर्ण रूपले क्षति पुग्ने घरको संख्या १४ पुगेको छ।’

बर्खाको समयमा त्यस क्षेत्रका होटल र घरहरूमा धेरै मान्छे नबस्ने भएका कारण ठूलो मानवीय क्षति नभएको जनप्रतिनिधिको भनाइ छ।

‘सोलुखुम्बुको नाम्चेबाट उत्तरपश्चिम क्षेत्रमा थामे गाउँ अवस्थित छ,’ सोही क्षेत्रका कोशी प्रदेशसभा सांसद बुद्धिकुमार राजभण्डारीले भने, ‘पर्यटकीय क्षेत्रमा पर्ने गाउँमा अहिले धेरै मानिस बस्दैनन्। बर्खामा हरेकजसो होटल र घरका धेरै मानिस काठमाडौंमै हुन्छन्। त्यसैले घर र होटल रूङ्गेर बसेका थोरै मानिस मात्रै भएको जानकारी पाएको छु। भाग्न दौडिन सक्नेहरू भएकाले उनीहरू जोगिए।’

उनका अनुसार बाढीका कारण गाउँलाई अन्यत्रसँग जोड्ने सबैजसो बाटोहरू बगाएको छ भने केही पुलहरू पनि भत्केको छ।

‘नाम्चेबाट उकालो लाग्दै यहीँ गाउँ हुँदै नाङपाला पास ९तिब्बततिर० जाने बाटोमा यो गाउँ पर्छ,’ प्रदेशका पूर्वमन्त्री समेत रहेका राजभण्डारीले भने, ‘हिमालको कुनै हिमताल फुटेर थामेखोलामा मिसिएपछि बाढी गाउँ पसेको हुनसक्छ।’

मध्य दिनमा बाढी गाउँ पस्दा पनि ठूलो क्षति नभएको सांसद राजभण्डारीले जानकारी दिए। ‘यदि राति सर्वसाधारण गरेको भए अहिलेसमम ठूलो मानवीय क्षति हुनसक्थ्यो,’ उनले भने, ‘मध्य दिनमा उज्यालैमा बाढी पस्दा सर्वसाधारणलाई जोगिन सहयोग भयो।’

प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्