माओवादी अध्यक्ष प्रचण्ड र बेलायती राजदूत फेनबीच भेटवार्ता, के भयो कुराकानी ?


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार बिहान खुमलटारमा भेटवार्ता भएको हो ।

भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताए।

उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै जलवायु न्याय लगायतका क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताए।

भेटमा राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाइ दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधै सहयोग रहने बताए।

फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रूचि बढेको बताउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताएका थिए।

प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्