मंकीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी आपत्काल घोषणा


 


एजेन्सी । अफ्रिकाका केही भागहरूमा मंकीपक्स (एमपक्स)को प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी आपत्काल घोषणा गरेको छ ।

अत्यधिक सङ्क्रामक रोग मंकीपक्सका कारण कङ्गोमा चार सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अहिले यो सङ्क्रमण मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको छ ।

वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट तीव्र फैलिरहेको र यसको उच्च मृत्युदरलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानम गेयब्रेयससले यो सङ्क्रमण अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यो प्रकोप रोक्न र जीवन बचाउनका लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको उनले बताए ।

मानिसहरूलाई बिफर गराउने प्रजातिको भाइरसबाट मङ्कीपक्स सङ्क्रमण हुन्छ । यो भाइरस सबैभन्दा पहिले जनावरबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ ।

मङ्कीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् । ज्वरो उच्च भएपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन् र यो अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ ।

मङ्कीपक्सको सङ्क्रमणबाट आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया हुने र ज्यान पनि जान सक्छ । सङ्क्रमित व्यक्तिसँगको नजिकको संसर्गबाट पनि मङ्कीपक्स सर्न सक्छ ।

यस्तै भाइरसबाट सङ्क्रमित भएका वस्तु जस्तै रगत, लुगाबाट पनि सङ्क्रमण सर्न सक्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्