भ्रष्टाचार मुद्दामा गोदावरीका प्रमुख र उपप्रमुखले पाए सफाइ


 


काठमाडौं, साउन ३१ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई सफाइ दिएको हो ।

लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रदेशसभासँग बाझिएको भनिएको कानुन अस्तित्वमा रहेको र त्यही कानुनबमोजिमको कर असुल्दा भ्रष्टाचार भएको भन्न नमिल्ने विशेष अदालतले बिहीबार जारी गरेको फैसलाको संक्षिप्त रूपमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २१ जेठमा नगरप्रमुख महर्जन, उपप्रमुख अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूलाई प्रदेशसभाले निर्धारण गरेको भन्दा घटी कर संकलन गरेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको थियो ।

तर, नगरपालिकाको आर्थिक ऐनले प्रदेशसभाले बनाएको कानुनभन्दा घटी कर निर्धारण गरेकाले यो भ्रष्टाचारको मुद्दा नभई संवैधानिक व्याख्याको प्रश्न रहेको विशेष अदालतको ठहर छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्