सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त


 


धनगढी ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा पेश गर्नुभएको विश्वासको मत सम्बन्धीको प्रस्तावको पक्षमा ३६ मत र विपक्षमा ८ मत परेको छ । विश्वासको मतको पक्षमा काँग्रेस १८, एमाले ११ र नागरिक उन्मुक्तिका ७ जनाले मतदान गर्नुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादीका ८ जनाले विश्वासको मतको विपक्षमा मत खसाल्नुभयो । यस्तै मत दिन्न भन्नेमा एक मत खसेको छ ।

बैठकमा सभामुख भिम बहादुर भण्डारीले विश्वासको मतको पक्षमा खसेको मत प्रदेश सभामा कायम सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्री शाहले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहले बैठकमा विश्वासको मत सम्बन्धीको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफमा प्राप्त सकारात्मक सुझावलाई आत्मसात गर्ने बताउनुभयो ।

५३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा ४५ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्