चीनलाई गोप्य दस्तावेज बेचेको अभियोगमा अमेरिकी सैनिक दोषी ठहर


 


वाशिङ्टन डीसी । अमेरिकी सेनाका एक जना विश्लेषक सेनाका गोप्य दस्तावेजहरू चीनलाई बेच्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर भएका छन् । अमेरिकी न्याय मन्त्रालयका अनुसार दर्जनौँ संवेदनशील सुरक्षा रेकर्ड दिएबापत ४२ हजार डलर भुक्तानी लिएको आरोपमा सर्जेन्ट कोर्बियन शोल्जलाई मार्चमा एफबीआई र अमेरिकी सेनाको काउन्टर इन्टेलिजेन्सले पक्राउ गरेको थियो ।

यो षडयन्त्र सन् २०२२ को जुनमा सुरु भएको र पक्राउ नपर्दासम्म जारी रहेको अधिकारीहरूले बताएका थिए । उनको सजाय भने जनवरीमा तय हुने बताइएको छ । हङकङमा बसिरहेका एक व्यक्तिसँग मिलेर शोल्जले संवेदनशील डेटा चोरीको षडयन्त्र रचेका थिए ।

ती व्यक्तिले उनलाई मिसाइल रक्षा र मोबाइल आर्टिलरी सिष्टम आदिसम्बन्धी संवेदनशील डेटा जम्मा पार्न भनेका थिए । उनले युक्रेनमा रुसी युद्धबाट सिकेको आधारमा अमेरिकी लडाकु विमान, सेनाको ट्याक्टिस र ताइवानका लागि अमेरिकी सेनाको रणनीति आदिसम्बन्धी डेटा बटुलेका थिए ।

अमेरिकी सेनाले उनीमाथि राखेको विश्वासलाई बेची देशबाहिर बसिरहेको व्यक्तिसँग मिलेर राष्ट्रिय प्रतिरक्षासम्बन्धी सूचना बाहिर लैजाने षडयन्त्र रचेर प्रतिवादीले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिममा राखेको अमेरिकाको न्याय मन्त्रालयका राष्ट्रिय सुरक्षा विभागका सहायक महान्यायाधिवक्ता म्याथ्यू ओल्सनले सुनवाइमा भनेका छन् । मङ्गलवारको सुनवाइमा उनीमाथि लगाइएको सबै आरोपमा शोल्ज दोषी ठहर भएका थिए ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्