सरुवा-बढुवाका लागि मन्त्री र नेताहरूलाई नभेट्नू : अर्थमन्त्री पौडेल


 


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा बढुवाका लागि राष्ट्रसेवकहरूले नेता भेटन् नहुने बताएका छन् ।

सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरुवारबढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे ।

सोर्स लगाउने कर्मचारी क्षमताले जतिसुकै सक्षम भएपनि निरीह र कमजोर हुने भन्दै उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए ।

अर्थमन्त्री पौडेलले भने,‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्क राख्नुहोला । तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला । सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि उनीहरु वास्तवमा निरीह र कमजोर हुन पुग्छन् ।’

उनले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताए । उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न निर्देशन दिए।

पोशाकका आधारमा नभई सेवाग्राहीका समस्या बुझेर यथोचित ढंगले सम्बोधन गर्न पौडेलले निर्देश दिए ।

आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्न सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्