माधवले कसरी छान्दैछन् उपाध्यक्षसहित बाँकी १८ जना पदाधिकारी ?


 


काठमाडौँ । साउन १८ गते केन्द्रीय कमिटीलाई पूर्णता दिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आगामी भदौ ९ गते बाँकी पदाधिकारी चयन गर्ने भएको छ । असारमा १० औँ महाधिवेशन सम्पन्न गरेको सो पार्टीले केन्द्रीय कमिटीलाई किस्ताबन्दीमा पूर्णता दिएर दुई महिनापछि पदाधिकारी पनि किस्ताबन्दीमै चयन गर्न लागेको हो ।

असार २१ गते प्रज्ञा भवनमा सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

त्यसपछि बाँकी केन्द्रीय सदस्य चयन गर्न झन्डै एक महिना लगाएको एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको तीन सातापछि पदाधिकारी चयन गर्न लागेको हो ।

केन्द्रीय सदस्यमा जस्तै पदाधिकारीका आकाङ्क्षी पनि धेरै भएपछि सहमति जुटाउन अध्यक्ष माधव नेपाललाई समस्या भएको बताइएको छ । पदाधिकारी चयन गर्नुअघि दोस्रो चरणमा छनोट भएका केन्द्रीय कमिटी सदस्यको शपथ ग्रहण गर्ने तयारी भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘पदाधिकारी चयनअघि केन्द्रीय सदस्यहरूको शपथ हुन्छ’, खतिवडाले भने, ‘भदौ ९ गते पार्टी स्थापना दिवस समेत भएकाले भदौ ८ गते शपथ र नौ गते पदाधिकारी घोषणा गर्ने कि भन्ने अनौपचारिक छलफल भएको छ तर औपचारिक निर्णय गर्न बाँकी छ ।’ खतिवडाका अनुसार ३४४ जना केन्द्रीय सदस्यमध्येबाट बाँकी १८ जना पदाधिकारी छनोट गरिनेछ।

एकीकृत समाजवादीमा अध्यक्ष १, सम्मानित नेता १, वरिष्ठसहित उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ४ र सचिव ७ जना रहने विधानमा व्यवस्था छ । त्यसमध्ये अध्यक्ष, महासचिव र सम्मानित नेता प्याक भइसकेकाले वरिष्ठसहितका उपाध्यक्ष, उपमहासचिव र सचिव गरी १८ जना पदाधिकारी छान्नुपर्ने छ ।

रिक्त पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा डा. बेदुराम भुसाल र राजेन्द्र पाण्डेबिच प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै उपमहासचिवमा १५ र सचिवमा ३५ भन्दा बढिले आकाङ्क्षा राखेका छन् ।

‘पदाधिकारीका आकाङ्क्षी धेरै देखिएका छन् । यस्तो हुँदा सर्वसम्मत नभए ३४४ जनाले मतदान गरेर टुङ्ग्याउने तयारी छ’, पार्टीका एक नेताले भने, ‘मतदानमार्फत छनोट गर्दा हार्नेलाई पनि चित्त बुझ्ने भएकाले सोही प्रक्रियामा जाने सम्भावना बढी देखिन्छ ।’ एकीकृत समाजवादीको महाधिवेशनमै अध्यक्ष माधव नेपाल गुट र झलनाथ घनश्याम गुट प्रस्ट देखिएको थियो । जसले गर्दा केन्द्रीय कमिटीलाई पूर्णता दिन कठिन भएपनि अन्ततः नेताहरूले आआफ्ना मान्छेलाई अटाएर केन्द्रीय कमिटीलाई पूर्णता दिएका थिए ।

‘पदाधिकारीमा पनि नेताहरूका आआफ्नै गुटको लडाइँले सर्वसम्मत हुने सम्भावना कम रहेको छ’, एक केन्द्रीय सदस्यले भने,‘ समस्या भनेको गुट व्यवस्थापनकै हो ।’

दसौँ महाधिवेशनमा अध्यक्षबाहेक सबै केन्द्रीय सदस्य र पदाधिकारी मतदानमार्फत छनोट गर्नुपर्छ भन्ने आवाज बलियो भएपनि नेतृत्वले मतदानप्रति अनिच्छा देखाएपछि खल्तीबाट नाम निकाले पढिएको थियो । जसका कारण पार्टीका युवा र प्रभावशाली भनिएका नेताहरू नै असन्तुष्ट बनेका थिए । नेतृत्व छनोटको प्रक्रियाप्रति असन्तुष्ट बनेका कतिपय नेताहरूले पार्टी नै छाडेका र कतिपयले पहिलो चरणमा भएको केन्द्रीय सदस्यको शपथ नै बहिस्कार गर्न पुगेका थिए ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्