आमसञ्चार परिषद्लाई स्वायत्त र स्वतन्त्र बनाइन्छ : मन्त्री गुरुङ


 


काठमाडौँ २९ साउन। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आमसञ्चार परिषद्लाई स्वायत्त र स्वतन्त्र बनाइने बताउनुभएको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री गुरुङले आमसञ्चार परिषद् गठनपछि नेपाली प्रेस थप स्वतन्त्र र मर्यादित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले नेपाली पत्रकारिता क्षेत्रको व्यवस्थापनका लागि आमसञ्चार परिषद्ले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुहुँदै सोही अनुसार विधेयक ल्याइएको बताउनुभयो ।

उक्त विधेयकमाथि जारी दफावार छलफलमा आमसञ्चार परिषद्ले संसदीय समितिमार्फत संसदमा वार्षिक प्रतिवेदन बुझाउने, परिषद्का पदाधिकारीले प्रधान न्यायाधीशसमक्ष पद तथा गोपनीयताको सपथ लिने र परिषद्ले मन्त्रालयमार्फत नै सरकारसँग सम्पर्क गर्ने विषयमा समितिमा सहमति जुटेको छ ।

बैठकमा सांसदहरु कृष्णप्रसाद सिटौला, गोपीबहादुर अछामी, वेदुराम भुसाल, भगवती न्यौपाने लगायतका सांसदहरुले आमसञ्चार परिषद्को पदाधिकारी सिफारिस समिति र पदाधिकारीलाई भ्रष्टाचार लगायतका मुद्दा परेमा के गर्ने भन्ने विषयमा थप छलफल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

यस अघिको बैठकमा सांसदहरूबिच मिडिया काउन्सिल विधेयकलाई आमसञ्चार परिषद् विधेयकका अघि बढाउने सहमति भइसकेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्