चमत्कार गर्छु भनेर दिनहुँ भाषण नगर्न मन्त्रीहरूलाई कांग्रेस महामन्त्री थापाको आग्रह


 


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका मन्त्रीहरूलाई अबको एक महिना नबोली काम गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले संघीय सरकारका मन्त्रीहरूलाई नागरिकले सेवा पाउने ससाना काम गर्न आग्रह गरे ।

महामन्त्री थापाले भने, ‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ । साउन सकिन लाग्यो। तीर्थब्रत पनि सकिन लाग्यो। भदौ लाग्न लाग्यो, भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने ब्रत लिइदिनुस्, उद्घाटन नगर्ने ब्रत।’

महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए। महामन्त्री थापाले मन्त्रीहरूले उद्घाटन र भाषण छाडेर जनताका काममा लाग्न अनुरोध गरे ।

उनले त्यसका लागि कुनै छुट्टै कानुन नचाहिने र संविधान संशोधन पनि गर्न नपर्ने भन्दै मात्र मन्त्रीहरूले इच्छाशक्ति राख्नुपर्ने बताए ।

महामन्त्री थापाले अहिले आफूहरू बोल्ने ठाउँमा रहेको र मन्त्रीहरू काम गर्ने ठाउँमा रहेको भन्दै भदौभरि आफूहरू बोल्ने र कामको प्रचार गर्ने बताए ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्