कैद मिनाहाका लागि देशभरबाट ६२० कैदीको नाम सिफारिस


 


काठमाडौं, साउन २९ । आगामी असोज ३ गते संविधान दिवसको दिन सरकारबाट हुने कैद मिनाहाका लागि देशभरबाट ६ सय २० जना कैदीबन्दी सिफारिस भएका छन् ।

कारागार व्यवस्थापन विभागले देशभरका कारागारबाट आएको ६ सय २० जना कैदीबन्दीको विवरण सार्वजनिक गरेको हो ।

वर्ष कैद मिनाहा पाउने व्यक्तिको विषयमा विवाद नआओस भनेर नै कारागार व्यवस्थापन विभागले कैदीहरूको सूची सार्वजनिक गरेर नागरिकको प्रतिक्रिया मागेको हो ।

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार कर्तव्य ज्यान मुद्दामा जेल परेका व्यक्तिलाई कैद मिनाहा दिन पीडित परिवारले स्वीकृति नदिए यो सिफारिस कार्यान्वयन हुने छैन ।

कारागार व्यवस्थापन विभागका अनुसार कैद कट्टाको सिफारिसविरुद्ध जनताको प्रतिक्रिया आउने क्रममा छ ।

गतवर्ष कर्तव्य ज्यान मुद्दामा कैदकट्टी तथा माफी मिनाहा पाएका रेशम चौधरी र चेतन मानन्धर ‘रिगल’ जेलमुक्त भएपछि सरकारबाट हुने माफी मिनाहाको चौतर्फी आलोचना भएको थियो । आलोचनापछि चेतनविरुद्ध लागेको मुद्दा पुनः अदालतमा प्रवेश पाएको थियो । सर्वोच्च अदालतले उनलाई पुनः कारागारमा पठाउने आदेश दिएको थियो।

यो सिफारिसमा पर्नेहरूमा आफूउपर परेको सजायको ५० प्रतिशत कैद बसिसकेका ५ सय ८६ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना छन्। यस्तै ३ जना जेष्ठ नागरिक छन् ।

सबैभन्दा बढी चोरी मुद्दाका १ सय ८५ जना, बहुविवाह मुद्दाका १ सय ४३ जना, सवारी ज्यान मुद्दाका ९५ जना, नकाबजनी चोरी मुद्दाका ८२ जना, डाँका मुद्दाका ७३ जना र अन्य विभिन्न कसुरका कैदीहरू छन् ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्