विद्यालयमा इजरायली आक्रमण : ७५ शवको पहिचान


 


गाजा पट्टी २८ साउन ।इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन् । उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन् ।

इजरायली सेनाले गाजा सहरको अल–ताबीन धार्मिक विद्यालय परिसरमा शनिबार बिहान गरेको आक्रमणमा कम्तीमा १९ प्यालेस्टिनी लडाकू मारिएको बताएको छ ।

“अल–ताबीन स्कूलमा भएको आक्रमणमा ९३ जनाको मृत्यु भएको छ, जसमध्ये ७५ को पहिचान गरिएको छ”, गाजा नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसालले एएफपीलाई भन्नुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ११ बालबालिका र छ महिला रहेका छन् ।

गाजा शहरको अल–अहली अस्पतालका चिकित्सक अमजद अलिवाले आक्रमणमा मारिएका ७५ जनाको पहिचान भएको पुष्टि भएको बताउनुभयो ।

“अझै पनि पूर्ण रूपमा नष्ट भएका शवहरू छन् (जसको पहिचान अज्ञात छ)”, उहाँले भन्नुभयो, “त्यहाँ दक्षिण (गाजापट्टी) मा विस्थापित भएका केही यस्ता परिवार पनि छन् र आफ्ना प्रियजनहरूलाई चिन्न आउन सक्तैनन् ।”

यसैबीच, इजरायली समाचार वेबसाइट वाल्लाले सेनालाई उद्धृत गर्दै हमलामा ३८ आतङ्ककारी मारिएको जानकारी दिएको छ ।

हमास लडाकूहरूले इजरायल र यसका सुरक्षा बलहरू विरुद्ध आक्रमणको योजना बनाउन कमाण्ड र कन्ट्रोल सेन्टरका रूपमा प्रयोग गरिरहेको सूचना प्राप्त गरेपछि विद्यालय परिसरमा आक्रमण गरेको सेनाले बताएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्