बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते


 


काठमाडौं, २८ साउन । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् ।

बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना भएको हो ।

घटनाको पुष्टि गर्दै जेहनाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनुभएको छ । भागदौड कसरी सुरु भयो भन्ने विषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन । जेहनाबादका प्रहरी प्रमुख दिवाकरकुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताउनुभएको छ ।

उहाँहरुका अनुसार शवहरु पोस्टमार्टमका लागि पठाइँदैछ । यसैबिच, जेहनाबादका प्रहरी अधिकारी विकास कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै उचित सुरक्षा व्यवस्था हुँदाहुँदै पनि दुःखद घटना हुन पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्