जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला, छेउमै भेटियो सुनको सिक्री !


 


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।

शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको जानकारी दिए।

विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन्। घटनास्थलमा पुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन्। मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ।

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

बेपत्ता मीना, कङ्काल, सामग्री र थुनामा रहेका युुवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताए ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्