जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला


 


म्याग्दी, साउन २८ । म्याग्दीको बेनी नगरपालिका– ९ आङ्खखेत कालीमुलको जंगलमा मानव कंकाल फेला परेको छ ।

जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको हो । कंकाल फेला परेको स्थान नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गंगटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको अवस्थामा फेला परेका हुन् ।

कंकाल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् ।

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्