रोहित आबद्ध टोरोन्टो नेसनल्सले जित्यो ग्लोबल टी–२० लिगको उपाधि


 


काठमाडौँ, साउन २८ । क्यानडाको ग्लोबल टी–२० लिगको उपाधि नेपाली क्रिकेटर रोहित पौडेल आबद्ध टोरोन्टो नेसनल्सले जितेको छ ।

ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले पराजित गर्दै टोरोन्टो नेसनल्सले ग्लोबल टी–२० लिगको उपाधि जितेको हो ।

मोन्ट्रियलले दिएको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले १५ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो । टोरोन्टोका लागि आन्द्रेस गोसले ५८ र रासेइ भान डेर डुसेनले ३० रनको योगदान दिए। आन्द्रेसले ४९ बलमा ५८ रन जोडेका थिए । फाइनल खेलमा रोहित भने बेन्चमा थिए ।

मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रनको योगफल तयार पारेको थियो ।

मोन्ट्रियलका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रनको योगदान दिए। यस्तै, जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २ तथा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले समान १–१ विकेट लिए।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्