विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय तयार छन् : गृहमन्त्री लेखक


 


काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए ।

उनले बर्षातका कारण यस वर्ष सरदरभन्दा बढी बाढी, पहिरो लगायत मनसुनजन्य घटनाहरू घटेको बताए ।

गृहमन्त्री लेखकले जेठ २८ गते नेपाल प्रवेश गरेयता पहिरो, बाढी र चट्याङमा परी १७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९७ जना घाइते भएको बताए।

जसमध्ये पहिरोबाट १०९ को मृत्यु र ३९ जना बेपत्ता, बाढीबाट ३५ जनाको मृत्यु र छ जना बेपत्ता तथा चट्याङबाट २४ जनाको मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी दिए। यसबिच एक हजार २१२ घटना मनसुनी घटना भएको पनि उनले बताए।

गृहमन्त्री लेखकले हालसम्मको तथ्यांक अनुसार सरदर भन्दा ४८.५ प्रतिशत बढी वर्षा भएको बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको गृहमन्त्री लेखकको भनाई छ ।

अहिले जल तथा मौसम विज्ञान विभागसंगको समन्वयलाई प्रभावकारी बनाई जोखिमका सूचनाहरु निरन्तर आदान प्रदान गर्ने गरिएको बताए ।

गृहमन्त्री लेखकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १८ हजार ७७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्दारमा खटिएको बताए ।

आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृहकार्य गरिरहेको बताए।

गृहमन्त्री लेखकले सडक संरचना सुधार, प्रशासनिक तथा व्यवस्थापकीय सुधार, खोज तथा उद्दार कार्यका लागि आधुनिक प्रविधि र सामाग्रीको व्यवस्थापनमा जोड दिएको बताएका छन्।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्