बंगलादेशका ५२ जिल्लामा हिन्दुमाथि २०६ हमला


 


ढाका । बंगलादेशमा बढ्दो हिंसाबिच हिन्दु समुदायमाथि आक्रमण बढ्दै गएको छ । हालसम्म देशका ५२ जिल्लामा हिन्दुमाथि आक्रमणका २०६ घटना सार्वजनिक भएका छन् । शनिबार बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले पनि यी हमलाको निन्दा गरेका थिए ।

‘अल्पसङ्ख्यकमाथि आक्रमण गर्नु जघन्य अपराध हो । बंगलादेशमा बसोबास गर्ने हिन्दु, इसाई र बौद्ध समुदायका मानिसहरूको रक्षा गर्नु देशका युवाहरूको कर्तव्य हो’ उनले भनेका थिए ।

बंगलादेशको बेगम रोकेया विश्वविद्यालयमा सम्बोधन गर्दै युनुसले भने, ‘विद्यार्थीहरूले यो देश बचाएका छन् । के उनीहरूले अल्पसङ्ख्यकहरूलाई जोगाउन सक्दैनन् । तिनीहरू पनि हाम्रो देशका नागरिक हुन् । हामी सबै मिलेर सँगै बस्नुपर्छ ।’

अल्पसङ्ख्यकका लागि छुट्टै मन्त्रालय बनाऊ : हिन्दुहरू
आफूहरूमाथि हुने हमला रोक्न आवश्यक कदम चाल्न बंगलादेशका हिन्दुहरूले माग गरेका छन् । अल्पसङ्ख्यकको हितको रक्षा गर्न उनीहरूले छुट्टै मन्त्रालय गठनको माग पनि गरेका छन् । बंगलादेशको संसद्मा आफूलाई १० प्रतिशत सिट दिनुपर्ने उनीहरूको माग छ । आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको माग गरेका छन् ।

साथै भत्किएका मन्दिर पुनः निर्माण गर्न पनि भनिएको छ । हिन्दु समुदायमाथि भएको हिंसाको विदेशमा पनि विरोध भइरहेको छ । बेलायतको संसद् भवन बाहिर ठुलो सङ्ख्यामा मानिसहरू भेला भएर सोको विरोध गरेका थिए । उनीहरुले ‘हिन्दु लाइफ म्याटर्स’को नारा लगाएका थिए ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्