माओवादी उपमहासचिव शर्माको प्रस्ताव – प्रचण्डले चाहेकै व्यक्तिलाई पार्टीको नेतृत्व हस्तान्तरण गरौँ


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नयाँ नेतृत्वबारे तीन वटा प्रस्ताव अघि सारेका छन् ।

पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो तीन वटा लिखित प्रस्ताव अघि सारेका हुन् ।

उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरे।

उपमहासचिव शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहेकै व्यक्तिलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न माओवादी केन्द्र तयार रहेकोसमेत बताए ।

नेतृत्व हस्तान्तरणबारे उपमहासचिव शर्माले भनेका छन् , अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’

उनले नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव गरे।

हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्