पाँचवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?


 


काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिका बैठक आज बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्न लागेका हुन् ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तरागाउँ रिजेन्सी होटल्स लिमिटेडका सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, बिहान ११ बजे नै सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनालगायतका विषयमा छलफल हुनेछ ।

दिउँसो २ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज २ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभाका सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्