मधेसका मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण


 


वीरगन्ज । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।

जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले शुक्रबार मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे । उनका अनुसार मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको हो ।

मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मनपरी गरेपछि पहिलो पटक पार्टीको तर्फबाट स्पष्टीकरण सोधिएको प्रवक्ता यादवको भनाइ छ ।

उनले भने, ‘खासगरी मन्त्रीमण्डल विस्तारमा पार्टीसँग समन्वय गर्नु भएन, प्रदेश सांसदहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिनुभयो । पार्टीको निर्देशन विपरीत गतिविधि हुँदा पार्टीको बदनामी भइरहेको छ, यही विषयहरू राखी मुख्यमन्त्रीसँग जवाफ मागिएको छ ।’

मुख्यमन्त्री सिंह जनताको काम भन्दा औपचारिक कार्यक्रमहरूको उद्घाटनतर्फ बढी लागेको समेत जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप लगाएको छ ।

तर यता मुख्यमन्त्री सिंहले भने स्पष्टीकरण नियमित प्रक्रिया भएको बताए । उनले भने, ‘पार्टीको यो नियमित प्रक्रिया हो, केही विषयमा त्रुटि भएको होला त्यसलाई सुधार गर्न पार्टीले ध्यानाकर्षण गराएको हो । अरू केही होइन ।’

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्