कास्कीमा एकैदिन ४० जना डेंगी सङ्क्रमित थपिए


 


काठमाडौँ, साउन २५ । कास्कीमा एकै दिन ४० जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । योसँगै जिल्लामा डंगी संक्रमितका संख्या तीन सय ६२ पुगेको छ ।

पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेङ्गीको सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । उनले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए । डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उनको भनाइ छ । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताए ।

जिल्लाभरिका सङ्क्रमित तीन सय ६२ मध्ये तीन सय १९ सङ्क्रमित पोखरा महानगरपालिकाभित्रका हुन् । सबैभन्दा धेरै वडा नं ८ मा १६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ ।

गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेङ्गी लागेको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए ।

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्