मधेसमा लुटधन्दा र भ्रष्टाचार गर्न मन्त्रीको संख्या बढाएको आजपाको आरोप


 


जनकपुर । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्री र राज्यमन्त्री गरेर मन्त्रिपरिषद् २० सदस्यीय बनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भागबन्डा पुर्‍याउनकै लागि मनपरी ढंगले मन्त्री थपेका हुन् ।

आठ वटा मात्रै जिल्ला भएको मधेस प्रदेश भूगोलको आधारमा सानो छ । तर यति मन्त्री किन बनाएको भन्दै सरकारको आलोचना भइरहेको छ । सर्वसाधारण नागरिक देखी विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिक दल, पेसा व्यवसायी लगायतका व्यक्तिहरूले सरकारको यस्तो गैरजिम्मेवार कामको आलोचना गरिरहेका छन् ।

यसैबिच प्रभु साह नेतृत्वको आम जनता पार्टी मधेस प्रदेश कमिटीले आठ जिल्ला रहेको सानो भूगोलको प्रदेशमा १२ मन्त्रालय र २० मन्त्रीको आवश्यकता किन पर्‍यो भन्दै प्रश्न उठाएको छ । आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेसको विकास बजेट लुट्ने प्रपञ्च हो भन्दै प्रश्न गरेका छन् ।

‘देशमा सुशासन, विकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेस प्रदेशमा ठीक उल्टो २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएको छ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेसको विकास बजेट लुट्ने प्रपञ्च हो ?’ कुशवाहाले प्रश्न गरे ।

मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको अभाव रहेको र शिक्षा तथा स्वास्थ्य सेवाको स्तर खस्किरहेको बताउँदै उनले यहाँको व्यापार चौपट भएको, युवाहरूले रोजगार पाउन नसकेको, सिङ्गै मधेस प्रदेश मानव विकास सूचकाङ्कमा पछाडि परेको अवस्थामा सरकारले मिहिन तरिकाले काम गर्नुको साटो मन्त्री नियुक्त, विस्तार, भागबन्डा, भ्रष्टाचार र अनियमितताको खेलमा लागेको आरोप लगाए ।

‘आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० वटा मन्त्रीको रेकर्डले के मधेसको नाम बढाउने छ कि बदनाम गर्नेछ ? सिके राउत सँग सोध्न चाहन्छु । आज मधेसमा दलित र गरिबहरू घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन, विद्यार्थीको अनुपात शिक्षक छैन, शिक्षा र स्वास्थ्यको स्तर खस्किँदो छ, उद्योग व्यापार चौपट छ, युवाले रोजगार पाएको छैन, सिङ्गै मधेस मानव विकास सूचकाङ्कमा पछाडि छ । यस्तो अवस्थामा अनावश्यक मन्त्रीमण्डल बिस्तार कुनै पनि हिसाबले सही छैन । यस विषयमा गठबन्धनका नेताहरूले समयमा ध्यान देओस्, नत्र जनता चुप लागेर बस्दैन’ उनले भने ।

मधेसको विकासका लागि ध्यान दिनुपर्ने सरकारले भ्रष्टाचारमा लिप्त रहेको र सत्तारुढ गठबन्धनमा रहेका पार्टी, नेतालाई भागबन्डाको आधारमा कमाउने धन्दामा लागेको आरोप उनले लगाएका छन् ।

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्