कांग्रेस केन्द्रीय समितिको बैठकमा ११ वटा प्रस्ताव पेश


 


काठमाडौँ २३ साउन। नेपाली कांग्रेसको आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा छलफलका लागि विभिन्न ११ वटा प्रस्तावहरू पेश भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आजको बैठकमा महासमिति बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि निर्देशन समिति बनाउने, पार्टीको सङ्गठन विस्तारका लागि एक सय दिने साङ्गठनिक अभियान सञ्चालन गर्ने लगायत विभिन्न ११ वटा प्रस्तावहरू पेश भएको नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यस्तै बैठकमा पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति गर्ने, पार्टीको नियमावली संशोधन, पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका, क्रियाशील सदस्यता वितरण तथा नवीकरण तथा समसामयिक राजनीति सम्बन्धी प्रस्ताव पेश भएको छ ।

यस्तै बैठकले आज नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा पार्टीका तर्फबाट दुख प्रकट गर्नुका साथै यसको यथार्थ छानबिनको माग गरेको छ ।

बैठकमा मित्रराष्ट्र बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने र छिट्टै पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने प्रवक्ता डा महतले बताउनुभयो ।

आज पेश भएका प्रस्तावहरू माथि भोलीबाट निरन्तर छलफल हुने र केही दिनमा निष्कर्षमा पुग्ने नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्