नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक


 


काठमाण्डौ, माघ १२

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक देखाएको छ । ट्रान्सपरेन्सीले बुधबार सार्वजनिक गरेको सूचकांकमा नेपाल २९ अंक पाएर १ सय ३१ औं स्थानमा रहेको हो । विश्वका १ सय ७६ देशमा सर्वेक्षण गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।

गत वर्ष १ सय ६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो । दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान रहेको छ । त्यसैगरी दोस्रोमा बंगलादेश रहेको सर्वेक्षणले देखाएको छ । विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्युजिल्याण्ड छन् भने सबैभन्ढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको सर्वेक्षणले देखाएको छ ।

नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको अंक २ बढी हुनुले भ्रष्टाचारको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । तर, नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ । भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले यो वर्ष ५० भन्दा कम अंक पाएका छन् ।

दक्षिण एसियाली देशमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औं, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान १ सय १६ औं स्थानमा छ ।

 

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्