बंगलादेशमा रहेका नेपाली भन्छन्– अहिले त्यस्तो त्रासपूर्ण अवस्था छैन


 


काठमाडौँ । बंगलादेशमा जारी प्रदर्शनमा हालसम्म तीन सयभन्दा बढी नागरिक मारिएका छन् । एक महिना अघिदेखि सुरु भएको कोटा विरोधी आन्दोलन हिंसात्मक बन्दै गएसँगै प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततिर लागेकी छन् । तर, त्यहाँको प्रदर्शन, तोडफोड अझै कम भइसकेको छैन ।

बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । हाल बंगलादेशमा करिब ४०० जना नेपाली विद्यार्थी छन् । उनीहरू सुरक्षित रहेको समेत दूतावासले जनाएको छ । विद्यार्थीहरूले समेत आफूहरू सुरक्षित नै रहेको बताएका छन् ।

काठमाडौँ कलङ्की घर भई पोस्ट ग्रेजुएट गर्न बङ्गलादेश पुगेकी डाक्टर शान्तवना गौतमले अहिले त्यस्तो त्रासपूर्ण अवस्था नरहेको बताएकी छन् । ‘हामीलाई कलेज नआउ भनेको छ । अहिले फ्ल्याटमै बसिरहेका छौँ । त्यस्तो गाह्रो केही छैन’ उनले भनिन् ।

ढाकास्थित बंगाबन्धु शेख मुजीब मेडिकल युनिभर्सिटीमा पोस्ट ग्रेजुएट गर्दै आएकी गौतमले आफूहरू फ्ल्याटमा सुरक्षित रूपमा बसिरहेको बताइन् ।

उक्त विश्वविद्यालयमा ८० देखि १०० जनाको हाराहारीमा नेपाली विद्यार्थीहरू एमबीबीएस तथा पोस्ट ग्रेजुएट (पीजी) गर्दै आएका छन् । तीमध्ये केही मात्रै घर गएको र बाँकी सबै होस्टेल तथा फ्ल्याटमै बसिरहेको उनको भनाइ छ ।

‘अहिलेसम्म बाहिर निस्केका छैनौँ । कलेज नै सुरक्षित भएर बस्नुस् भनेको छ । कोही साथीहरू मात्रै घर गएका छन् । बाँकी हामी यतै बसिरहेका छौँ,’ उनले भनिन् ।

ढाका बाहिरको अवस्था भने अलि समस्याग्रस्त रहेको हुनसक्ने उनको भनाइ छ । ढाका बाहिर कुटपिटका घटना आइरहेको बताउँदै त्यसले केहीमा त्रास पैदा भएको तर, आफूहरू अहिलेसम्म सुरक्षित नै रहेको बताइन ।

दूतावासले उनीहरूलाई सम्पर्क गरेर सुरक्षित रहेर बस्नु भनेको थियो । दूतावासले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने र नसकेको खण्डमा नेपाल फर्किन भनेको थियो । तर, आफूहरू सुरक्षित नै रहेकाले नेपाल नफर्किएको बताइन् ।

‘दूतावासले आफ्नो सुरक्षा आफैँ गर्नुहोस् नभए स्वदेश फर्किनु भनेको थियो । नेपाल गयो फेरि केही दिनमा शान्त भयो भने फेरि आउनुपर्ने अवस्था हुन्छ । त्यसैले हामी नेपाल आएनौँ,’ उनले भनिन् ।

आफूहरूको पढाइसँगै ट्रेनिङ समेत हुने गरेको बताउँदै नेपाल गएर पछि आउँदा पुनः समस्या हुने उनको भनाइ छ । बङ्गलादेशी साथीहरूले समेत केही दिनमा शान्त हुने र घर नजान सल्लाह दिएका छन् ।

कलेज तथा उनीहरूको ट्रेनिङ भने चलिरहेकै छ । तर कोही पनि विदेशी विद्यार्थीहरू गएका छन् । सुरक्षाको कारण केही दिन आफूहरू आउनु नसक्ने जानकारी कलेजलाई दिएको र कलेजले शान्त नहुँदासम्म नआउन भनेको उनको भनाइ छ ।

उनीहरू पढ्ने कलेजमा आन्दोलन सुरुवातमै आगजानी भएको थियो । तर, अहिले त्यस्तो जोखिम नरहेको उनको भनाइ छ ।

ढाकाबाहिर बस्ने विद्यार्थीहरूको हकमा भने केही जोखिम हुनसक्ने बताइन् । यसअघि पहिलो चरणको आन्दोलनको क्रममा निकै अशान्त बनेको थियो । तर, अहिलेको आन्दोलनको क्रममा भने त्यस्तो जोखिम नदेखिएको उनको भनाइ छ ।

यसअघि इन्टरनेट नै बन्द गरिदिएको थियो भने फोन समेत राम्रोसँग काम नगर्ने अवस्थामा थियो । जसले गर्दा धेरै नेपाली विद्यार्थीहरूले घर परिवारसँग समेत सम्पर्क गर्न पाएका थिएनन् । अहिले त त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्