टीआरसी विधेयकमा सहमति जुट्नु नयाँ सरकार गठनपछिको राम्रो काम हो : प्रचण्ड


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नु खुसीको कुरा भएको बताएका छन् ।

सिंहदरबारमा बुधबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गरे ।

टीआरसी विधेयकमा सहमति जुट्नुलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमासमेत उनले चित्रण गरेका छन्।

लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको विषय अहिले टुंगिनु खुशीको कुरा भएको उनले बताए।

प्रतिवेदनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विश्वास रहेको दाहालले बताए ।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बनेपछिको राम्रो काम संक्रमणकालीन न्यायमा बनेको बताए ।

आफू प्रधानमन्त्री रहेकै बेला तीन दलका प्रमुख नेताहरूको बैठकले संक्रमणकालीन न्यायमा सहमति जुटाउनका लागि कार्यदल गठन गरिएको पनि दाहालले स्मरण गरेका थिए ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्