एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु हुँदै


 


काठमाडौं, साउन २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आज (बुधबार)देखि सुरु हुँदैछ ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिना अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजार मात्रै सहभागी हुन लागेको बोर्डले जनाएको छ । यसका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्