बागलुङ बडिगाडकाे पहिरोमा मृत्यु हुनेकाे सङ्ख्या आठ पुग्यो


 


बागलुङ, २२ साउन । सोमबार रातीको बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

गाउँपालिकाको वडा नम्बर १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना पहिरोमा परेर गम्भीर घाइते भएको बागलुङका सहायक प्रमुख जिल्लाअधिकारी चित्राङ्गगत बरालले जानकारी दिनुभयो ।

यसैगरी, उहाँका अनुसार बडिगाड–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गङ्गा बस्नेत हुनुहुन्छ । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटोमा हिँड्दै गर्दा पहिरोले पुरेको थियो । मृतक आठ जनाकै सनाखत भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु विकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवी विक हुनुहुन्छ । पहिरोमा परी वर्ष ४६ का सङ्गीता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मङ्गलसिंह बुढा गम्भीर घाइते हुनुभएको छ ।

पहिरोमा अझै दुई जना पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । अहिले प्रहरी र स्थानीयवासीहरुले उद्धार गरिरहेको उहाँले बताउनुभयो । गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्