को हुन् हसिनालाई देश छाडेर भाग्न बाध्य पार्ने तीन विद्यार्थी नेता ?


 


काठमाडौं । आरक्षण विवादमा सुरु भएको विद्यार्थी प्रदर्शनलाई सहज व्यवस्थापन गर्न नसक्दा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्न बाध्य भएकी छन् ।

हसिना सोमबार बंगलादेशबाट भागेर भारत पुगेकी छन् । उनी अब भारतबाट पनि तेस्रो देश जाने बताईएको छ ।

आरक्षणबारे असन्तुष्ट विद्यार्थीहरुको माग सम्बोधनको साटो दमन बढाएपछि हिंसात्मक घटना बढेका थिए।

सोमबार प्रदर्शनमा मारिएकाहरूको सम्मानमा भेला भएका प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा पुगेपछि हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर हेलिकोप्टरमा बङ्गलादेशबाट भागेर भारत पुगेकी थिइन् ।

बङ्गलादेशको आर्थिक प्रगतिको श्रेय पाउने गरेकी उनी पछिल्ला केही वर्षदेखि तानाशाह बन्दै गएको आरोप लाग्ने गरेको थियो।

विश्वविद्यालय र कलेका विद्यार्थीको प्रदर्शन देशभर व्यापक असन्तुष्टि, रक्तपात र आतंकित अवस्थामा पुगेको थियो ।

बंगलादेशको सर्वोच्च अदालतले विवादित आरक्षण व्यवस्थालाई समाप्त गर्दै विद्यार्थीहरूको मुख्य माग पूरा गरे पनि असन्तुष्टि भने समाप्त भएको थिएन् ।

हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने विद्यार्थी प्रदर्शनका पछाडि तीन जना महत्वपूर्ण पात्र रहेका छन् ।

जसले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन शुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढालेका छन्।

१५ वर्ष लगातार बंगलादेशमा शासन गरेकी हसिनालाई देश छाडेर भाग्न बाध्य पार्ने नाहिद इस्लाम, आसिफ महमुद र अबुबकर मजुमदार रहेका छन् ।

अखिर को हुन् त हसिनालाई देश छाडेर भाग्न बाध्य पार्ने उनीहरु :

नाहिद इस्लाम- इस्लाम बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको सबैभन्दा ठूलो अनुहार हुन्। उनले आइतबार आफु हरुले लाठी उठाएको र लाठीले काम नगरे हतियार पनि उठाउन तयार रहेको भन्दै बङ्गलादेशकी प्रधानमन्त्री हसिनालाई चेतावनी दिएका थिए ।

उनले अब पदबाट राजीनामा दिने या पदमा रहेर रक्तपातको सहारा लिने निर्णय आफै लिन शेख हसिनालाई आग्रह गरेका थिए । इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुन् ।

उनले प्रहरीलाई जुलाई २० मा पक्राउ गरेको आरोप छ । तर, प्रहरीले यसलाई अस्वीकार गरेको छ। सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा युनिफर्म लगाएका केही व्यक्तिले इस्लामलाई कारमा बसाउन लगाएका थिए ।

इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि बेहोस अवस्थामा फेला परेका थिए। बेहोश नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनले दाबी गरे ।

पुलिसको कुटाइबाट घाइते इस्लामको अनुहारले प्रदर्शनकारीलाई थप आक्रोशित बनाएको थियो । त्यसपछि उनीहरु झनै हिंसात्मक बने र सडकमा उत्रिए ।

आसिफ महमुद – महमुद ढाका विश्वविद्यालयमा भाषा अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

उनी जुनमा शुरु भएको आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको हिस्सा बनेका थिए। महमुदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेका थिए ।

अन्यजस्तै उनलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा राखिएको थियो । जुलाई २७ मा डिटेक्टिभ ब्रान्चले थप दुई विद्यार्थी नेतालाई पक्राउ गरेको थियो ।

उनीहरुको नाम सर्जिस आलम र हसनत अब्दुल्ला थियो । उनीहरुलाई डिटेक्टिभ ब्रान्चको कार्यालयमा राखिएको थियो । जुन २८ गते उनका परिवारका सदस्यले उनलाई भेट्न अनुमति मागेका थिए तर भेट्न दिएनन् ।

तर यसअघि इस्लाम, महमुद र उनीहरूका सहकर्मीहरूले एउटा भिडियो सार्वजनिक गर्दै आन्दोलन फिर्ता लिन आह्वान गरेका थिए ।

प्रहरीले जबरजस्ती कुटपिट गरी भिडियो बनाएको थियो । महमूदलाई इन्जेक्सन दिइएको थियो जसका कारण उनी धेरै दिनसम्म बेहोस रहेको बताइएको थियो ।

विद्यार्थीको गिरफ्तारीको विरोधमा उत्रिएपछि अगस्त १ मा उनी हिरासतबाट रिहा भएका थिए । अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपील गरे ।

अबुबकर मजुमदार – अबु बकरले शेख हसिनालाई सत्ताबाट हटाउनमा पनि भूमिका खेलेका छन् । उनी ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन् ।

फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारमा पनि काम गर्छन् । ५ जुनमा आरक्षणमा उच्च अदालतको निर्णय पछि, बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन सुरु गरेका थिए ।

जुलाई १९ को साँझ धानमण्डी इलाकाबाट केही व्यक्तिले अबुलाई लिएर गएका थिए । त्यसपछि धेरै दिनसम्म उनको कुरा सुनिएन । दुई दिनपछि उनलाई उठाइएका ठाउँकै सडकमा छाडियो ।

पछि अबुले मिडियालाई प्रहरीले उनलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताए । उनले आन्दोलन फिर्ता लिन अस्वीकार गर्दा प्रहरीले कुटपिट गरेको र घाइते भएपछि नगर अस्पतालमा भर्ना गरिएको थियो ।

तिनै विद्यार्थी नेताहरुले अब हसिनाले राजीनामा दिएर देश नै छोडेपछि सेनाको सत्ता स्वीकार नहुने भन्दै नयाँ सरकार गठनको माग गरेका छन् ।

उनीहरुले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको माग गरेका छन्।

युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्