खराब मौसमले हवाई उडान प्रभावित, केही जहाज आकाशमै ‘होल्ड’


 


काठमाडौँ, साउन २२ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बनेको छ ।

बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए ।

खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए ।

उनका अनुसार बिहानै उडान सेडुलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेका छन् ।

कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाइएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्