बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडिन्, सेना प्रमुख भन्छन् अब अन्तरिम सरकार बन्छ


 



काठमाडौँ, २१ साउन । प्रधानमन्त्री पदबाट राजीनामा दिएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गरेकी छन् ।देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएर देश छाड्की हुन् । प्रधानमन्त्री हसिना भारतबाट बेलायत जान लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् ।
बङ्गलादेशमा आइतबारदेखि पुनः सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ । आरक्षणको विषयलाई लिएरगत गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसैबिच बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समयमा सेना प्रमुख जमानले सोमबार सम्बोधन गर्दै सो जानकारी दिए ।
सम्बोधनमा बङ्गलादेशका सेना प्रमुख जामनले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको जानकारी दिदै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताए ।

“हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ । हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ । हामीलाई विश्वास गर्नुहोस्,” उनले भने ।
प्रधानमन्त्री हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरे। ठुलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्