लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय


 


काठमाडौँ, २१ साउन। सरकारले लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको छ । हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’’

त्यस्तै, मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उहाँहरूका आफन्तहरूले कायरोस्थित नेपाली राजदूतावास तथा परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार नेपाली राजदूतावास कायरोका द्वितीय सचिव दीपक घिमिरेलाई ं२०१०९७७७२३४८ र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ं९७७९८४९१७९५२० मा सम्पर्क गर्न सकिने ।

साथै, लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमा रहेको लिङ्क https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebabon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराउनुहुन समेत लेवनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अनुरोध छ ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्