कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै


 


काठमाडौँ, साउन २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले गत शनिबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेपछि यही साउन ७ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

४० सदस्यीय प्रदेशसभामा विश्वासका लागि २१ मत आवश्यक पर्दछ । प्रदेशसभामा सत्तारुढ कांग्रेसका १४ र एमालेका १० सांसद रहेका छन् । यस्तै, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपाका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्