राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन


 


काठमाडौँ २० साउन । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले ललितपुरको जावलाखेलमा आज अपराह्न आयोजित भोटो जात्रामा सरिक भई भोटो जात्रा अवलोकन गर्नुभएको हो ।

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीहरूले भोटो देखाएका हुन।

राष्ट्रपति पौडेल भोटो जात्रा अवलोकनका लागि जावलाखेल पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका अधिकारीहरू तथा गुठी संस्थानका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको थियो ।

भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरूलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । साथै भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य सहभागिता थियो ।

भोटो जात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्